welovenepal.com Nepali Time
Annapurna Area
डा. हर्क गुरुङ सही रहेछन

डा. हर्क गुरुङ बितेर गए तर उनी कति सम्म दुरदर्शी थिए भन्ने विषय यतिखेर खड्किन थालेको छ। डा.हर्क गुरुङ कहिले पनि एकलजातीय संघीयताका पक्षमा थिएनन्, उनी एकतावद्ध र समृद्ध देशका पक्षमा थिए। जापानी र चिनियाँ सामानमा कर बढाएर भारतीय सामानमा कर घटाउनु उचित होइन, भारतमाथि निर्भर हुँदै जाने षडयन्त्र हो भनेर ३० वर्ष अघि नै गुरुङले भनेका थिए। १९८३ मा डा. हर्क गुरुङले खुला सिमाना राख्ने र नियमित नगर्ने हो भने भारतीय आप्रवासीको ओइरोलाई थाम्न सकिन्न भनेका थिए।

त्यतिबेला भारतका नूनका स्वाद पाउनेहरुमा अधिवक्ता कृष्णप्रसाद भण्डारीसमेत उभिन पुगे र उनले खुला रुपमा उद्घोष गरिदिए– डा. हर्क गुरुङलाई झुण्ड्याउनु पर्छ। हर्क गुरुङ बितेर गए तर हर्क गुरुङका दूरदर्शी राष्ट्रिय सोच कतिसम्म नेपालपक्षमा थिए भन्ने आज सबैले अनुभव गरिरहेका छन्। कृष्णप्रसाद भण्डारी जिवित छन्, उनी आज आफ्नै नजरमा गिरेको अनुभूति गरिरहेका होलान्। भण्डारी मानवाधिकारका व्याख्याता पनि हुन् र उनले राष्ट्राधिकारका बारेमा पनि मनन गरेकै होलान्।

०३६ सालमा मतदाता सूचीमा नाम भएका भारतीयहरुले नागरिकता लिइसकेका छन्। ०६२–६३ को आन्दोल अघि र पछि गरेर ४० र २४ लाखलाई नेपालको नागरिकता बाँडिसकियो। अब नयाँ प्रपञ्च सुरु भएको छ– राष्ट्रिय परिचयपत्र। नागरिकतामाथि प्रश्न उठ्न थालेपछि र गैरनागरिकले नागरिकता पाएको प्रमाणहरुका आधारमा पुनःजाँचका सवाल उठेपछि परिचयपत्रको व्यवस्था हुनथालेको हो। यसबाट के देखिन्छ भने जसजसले ढाँटेर वा किनेर नागरिकता लिएका छन्, तिनलाई राष्ट्रिय परिचयपत्र दिएर सही नेपाली साबित गराउने।

अझै पनि नेपाल–भारतवीच सिमाना खुला छ र नियमनका कुनै प्रवन्ध छैन। नेपालमा राजनीतिक अव्यवस्था र अराजकता बढ्दै गएको छ र यही संक्रमणमा नेपाललाई फिजी बनाउने प्रयत्न नागरिकता र परिचयपत्रमार्फत गर्ने डिजाइनमार्फत काम भइरहेको छ। यदि यी प्रयास सफल भए भने र एक मधेस एक प्रदेशको भारतीय एजेन्डामा संघीयताको सिमांकन भयो भने नेपाल भन्ने राष्ट्रमा सधै्र मधेसको हैकम कायम हुनजानेछ। योभन्दा पनि खतरनाक कुरो, आत्मनिर्णय र अग्राधिकारको अधिकारसम्पन्न गराएपछि मधेस नयाँ मुलुकका रुपमा टुक्रिन जानेछ। डा. हर्क गुरुङ बितेर गए, उनले अग्रगमनकारी र नयाँ नेपाल निर्माण गर्नेहरुबाट भइरहेको राष्ट्रको यो बेहाल देख्नुपरे।