welovenepal.com Nepali Time
Annapurna Area
दास बन्न लागेको मेरो देश

हाम्रो पुरानो पिंढी जो पढेलेखेका छन्, तिनले भारतको बनारसमा अध्ययन गरेका कुरा सबैलाई थाहा छ। त्यहाँ पढेलेखे अनि हिन्दूहरुले गर्ने दानधर्म, संस्कार आदि सबैभारतीय क्षेत्रमै लेखे, हाम्रो धर्मकर्म कार्य उतैतिर जोडिएको छ। हुन त पशुपतिनाथ, देवघाट, मुक्तिनाथ, दामोदर कुण्ड, गोसाइकुण्ड अनेक तीर्थस्थल नेपालमा नभएका होइनन्।

यद्यपि नेपालीहरु भारतका ख्यातिप्राप्त पीठ, तीर्थस्थल, धाममा जाने निरन्तरता अहिले पनि जारी नै छ। दशैंअघि सार्वजनिक बिदाको सदुपयोग गरेर म परिवारसहित भारतका तीर्थस्थलको धार्मिक भ्रमणमा निस्कें। वीरगञ्जबाट सीमा पार रक्सौल पुगियो। रक्सौलबाट सुगौली हुँदै पटनातिर लागि। सुगौली ठाउँ भनेकोऐतिहासिक ठाउँ जहाँ नेपाल र बेटिशवीच सन १८१६ मा सुगौली सन्धि भएको थियो। सुगौलीमा केही बेर टोलाएपछि रेल अगाडि बढ्यो। रेल मुजफरपुर पुग्यो। त्यहाँ रेल परिवर्तन गरेर आधारातमा हाँसिपुर पुगियो। बिहार हिजोजस्तो थिएन सायद तैपनि मनमा खतरा अनुभव भएर आयो र विश्रामालयमै रात बिताइयो।

भोलिपल्ट बिहानै फोन गरें, उनले दश मिनटमै आइपुग्ने बताए। उनी हाम्रा राजमोहर प्राप्त पण्डाका छोरा थिए। नभन्दै उनी आउर हामी सबैलाई अटो रिक्सामा राखेर हरिहर क्षेत्र लगे। हामीले मन्दिर परिसरको अवलोकन गर्‍यौं, भगवानप्रति नमस्कार गर्‍यौं। पण्डाका छोराले भने– अरे हजूर, तपाईलाई थाहा छ? नदीपारी नेपालको छाउनी ब्यारेक छ नि। म अचम्म परें। भारतमा नेपालको छाउनी ब्यारेक। मलाई हेर्ने इच्छा जाग्यो। हामी सानो डुङ्गा चढेर नदी पारी गयौं। छाउनीभित्र गयौं। छाउनी भित्रै पशुपति मन्दिरको ढाँचामा निर्माण गरिएको शिवजीको मन्दिर रहेछ। शुद्ध नेपाली कलाकारिताबाट बनाइएको। म तरङि्गत भएँ। म राष्ट्रप्रति गौरव अनुभव गर्नपुगें। पुर्षालाई सम्भि्कएँ जसले नेपालको सीमालाई यहाँसम्म फैलाएका थिए। पुर्षालाई धन्यवाद दिएँ।

जुनबेला सञ्चारका साधन थिएनन्। बाटोघाटो राम्रो थिएन। त्यस्तो अवस्थामा पनि नेपाली आमाका सपुतहरुलेदेशको सिमानालाई बढाएर यहाँसम्म फैलाउनु भनेको कम बहादुरीको कुरा होइन। आज नेपालको स्थिति सम्झें। मेरा आँखा रसाए। म पुर्षाहरुप्रति नतमस्तक भएँ। तर बिडम्बना आज देशको अवस्था सुगौली सन्ध पछिकोगम्भीर अवस्थामा आइपुगेको छ। देश र जनताको दुहाई दिने नेताहरु विदेशीको दलाल भएर उनीहरुको इसारामा नाचिरहेका छन्। विदेशी प्रभूले दिएको निर्देशनलाई सिधै प्रवेश गराएर देशको एकमात्र भरोसाप्राप्त रहेको न्यायक्षेत्रलाई क्षतविक्षित पारेर यो मुलुकलाई अझ कति दर्दनाक अवस्थामा पुर्‍याउन खोजिएको हो यसै भन्न सकिने अवस्था छैन।

देश निरीह भएको छ। जनता शक्तहीन भएका छन्। उनीहरुको आशा इच्छा सबैमा तुषारापात भएको छ। देशका जनता गुलाम हुँदैछन्। नेता भनाउँदाहरु देशमा ब्रम्हलूट गरिरहेका छन्। स्वाभिमान विदेशीको हातमा सुम्पिरहेका छन्। गणतन्त्र लौरो न हतियार बनेको छ। गणतन्त्र संस्थागत हुन सकेको छैन। संक्रमणकालीन अवस्थाको लाभ उठाएर भारत राजनीतिमा हालीमुहाली चलाइरहेको छ। जनतामा हीनताबोध बढाउने गरी भारतीय हस्तक्षेप बढेको छ। अहिले भारत लुकेर होइन, खुलेर नेपालमाथि हावी हुँदै गएको छ। भारतीय काँडाले नेपाली मन र मुटुलाई चसचसी घोच्न थालेको छ।

प्रत्येक नेपालीको मनमा प्रश्न उठिसकेको छ कि हामी स्वतन्त्र र सार्वभौम मुलुकका ‘दास’ नागरिक हौं? के हाम्रा पुर्षाले हामीलाई माफी देलान्? के हाम्रा आउने सन्ततिलाई यस्तो विदेशी हैकमपरस्त नेपाल हस्तान्तरण गर्ने? पुर्षाले सग्लो देश दिएका थिए, हामीले त्यसलाई बचाउन सकेनौं। धिक्कार छ तिमीजसता नेतालाई, धिक्कार छ तिमीजस्ता विदेशी दलाल नेतालाई। यो सब हेरेर बसिरहने हामी? अव उठ्ने बेला भएन? जनताले हस्तक्षेप नगर्ने हो भने के होला?

पुष्कलराज पन्त