welovenepal.com Nepali Time
Annapurna Area
बुद्धको बिचल्ली

कुन देशमा दौडिन्दै छौ हे भक्त
मलाई छोडी यहाँ एक्लै अलपत्र
शान्तिको आवाज
कुन-कुन ठाउँमा पुर्यायौ कुन्नि
आफ्नै देशमा लडिरहेछु
खै को थियो बैगुनी,
देख्दैछु,
परिपूर्णताको मादक
तिमीमा चढेको छ,
एउटा,
निरर्थक प्रलयकारी भोक
तिमीमा बढेको छ,
अंगिकार गर या नगर
मेरो भावनालाई,
तर अपमान पनि त नगरिदेउ,
किनकि
सहिस्णुताको पनि त एउटा कद हुन्छ,
त्याग अहंकार
अनि झट्टै उठाउ मलाई
तिमीलाई थाहै छ,
तुच्छता र नीचताको पनि त एउटा हद हुन्छ
के पैदल यात्रा गर्छौ हे मेरा भक्त
छोडी मलाई यहाँ आफ्नै देशमा अलपत्र !!

सन्दर्भ: कांक्रेविहार, बुद्धको बिचल्ली

लाटिकोइली गाविस अन्तर्गत सुर्खेत वन संरक्षण शाखा काक्रेविहार संरक्षण भित्र सवैभन्दा उचाइमा काँकेविहारको भग्नावशेष छ। बुद्धको मुर्ति पाउनु र स्थानको नाममा पछाडी विहार जोडिएबाट यो भग्नावशेष भगवान बुद्धसँग सम्बन्धित मानिएको छ। २०२९ सालमा तत्कालीन राजा वीरेन्द्रको सुर्खेतमा आएपश्चात काँक्रेविहारको भग्नावशेष समेतले महत्व पाएको देखिन्छ। हालै भएको बुद्ध मूर्ति राख्न दिने कि नदिने भन्ने विवादले झन यस क्षेत्र अहिले चर्चाको चुलीमा रहेको छ र सुर्खेतको कांक्रे विहार बौद्ध सम्पदाको क्षेत्र हो भन्नेकुरामा दुइमत रहेन।

बुद्ध दर्शन जुन हामि नेपालीहरु छाती ठोकेर गुनगान गाउँछौं र भारत सँग एकप्रकारको लडाइं नै चलिरहेको छ बुद्ध नेपालमा जन्मेको भन्ने वास्तविक सत्यतालाई लिएर। यो दर्शन बुद्धत्वको नामले हामि माझ प्रतिबिम्बित छ र शान्तिको महिमा यसले गाउँछ। नेपालमा प्रायजसो सबै हालका हिन्दु धर्मावलम्वीहरु बुद्ध मान्ने गर्छन, बुद्ध धर्मावलम्वीहरु त मान्ने नै भए। कतिपय नेपालीहरु बर्षेनी बुद्धको ज्ञान छर्न र शान्तिको सन्देश लिएर देश-विदेश यात्रामा निस्कने पनि गरिरहेका छन्। हो यिनै बुद्ध अहिले उनकै जन्मस्थल नेपालमा अलपत्र भेटिन्छन, सुर्खेतको जिल्ला प्रहरी कार्यालयको एक छेउमा यसरी (फोटो हेर्नुस) अपमानपूर्वक मिल्काइएको अवस्थामा। आखिर किन यस्तो? केहि धार्मिक मुल्लाहरुको चलखेल त होइन यो?

घटना अनुसार, यो वर्षको बुद्ध पूर्णिमाको दिन कांक्रे विहारको एउटा रुखमुनि बुद्धको १७ फिट अग्लो मूर्ति राख्ने कार्यक्रम तय भएको थियो र त्यसका लागि २०६४ फागुन १२ गते जिल्ला प्रशासन कार्यालयले पुरातत्व विभागको समेत परामर्श लिई त्यो ठाउँमा बुद्ध मूर्ति राख्न बौद्धगुम्बा निर्माण तथा संरक्षण समितिलाई अनुमति दिलाएको थियो र त्यसै अनुसार बुद्धको मुर्ति त्यहाँ स्थापना गरिएको थियो।पहिला अनुमति दिएर बुद्ध मुर्ति स्थापना भैसकेपश्चात अचानक प्रशासनले त्यहाँ “वन ऐन” अनुसार बुद्धको मुर्ति राख्न नमिल्ने भनेर बखेडा झिक्यो र त्यो मुर्तिलाई स्थानीयले नचाहँदा नचाहँदै पनि जिल्ला प्रशासनले उखेलेर ट्रकमा हाली प्रशासन कार्यालयको अफिस नजिक लगेर निकै नै अपमानजनक ढंगले मिल्काई दिए।

हुन त नेपाल बहुधार्मिक, बहुभाषिक, बहुजातीय हरुको सामन्जस्य हो भनेर कतिपयले छाती ठोक्ने गरेका छन्। कतिपयले भने नेपाल ४ जात ३६ वर्णको फुलबारी हो भनेर निरस गित गाउने गरेका छन्। तर यस घटनाले नेपालमा धर्म समान छैन र धर्म निरपेक्षताको देश होइन भन्ने पुष्टि गरेको छ। बुद्धको नियमसंगत तरिकाले प्रतिस्थापना भैसकेको मुर्तिलाई अपमानजनक ढंगले उखेलेर जिल्ला प्रशासन कार्यालयमा अलपत्र अवस्थामा फ्याक्नु अति नै गैरजिम्मेवार र निच हर्कतको प्रतिविम्व हो। यस हर्कतका मालिक तथा सिडिओ पुरुषोत्तम कुँवरले “काँक्रेविहारलाई कुनै धर्म विशेषले मात्र आफ्नो सम्झिनु गलत हुने” बताएर अर्को पक्षलाई उक्साउनु खोजेका समेत देखिन आएको छ। अब यहाँ प्रश्न उठ्न सक्छ हाम्रो धार्मिक सहिष्णुता छँदै छ नि किन आत्तिन पर्यो भन्ने? तर त्यसो होइन यो बिषयले नेपालमा केहि धार्मिक मुल्लाहरु भित्र-भित्रै संगठित छन् भन्ने पनि देखाउँछ। किनकि स्मरण रहोस पोखराको शान्ति स्तुपालाई समेत यस्तै प्रश्न तेर्साएर एकपल्ट भत्काई दोहोर्याएर बनाइएको थियो।

धार्मिक मुल्ला हुन या अरु कोहि अवसरवादी, यस घृणित कार्यले भने बुद्धको निकै नै अपमान भएको छ। अर्को कुरो बुद्ध भारतमा जन्मेको भन्ने अफवाहमा भारतलाई सत्तोसराप गर्ने लाखौं देशभक्त भिंड तयार हुन्छ यहाँ तर आफ्नै देशभित्रको यति घृणित हर्कतमा प्रमुख मेडियाहरु कानमा तेल हालेर बस्नु निकै नै रहस्यपूर्ण भएको छ। नेपालि भएर बुद्ध जन्मेकै देशमा बुद्धको उपदेशलाई सम्मान गर्न त सकेका छैनौं नै तर उनको प्रतिमालाई त सम्मान गरौँ भन्ने आशय भएका लाखौँ नेपालीहरु जन्मिन्थे यहाँ यदि मेडियाको आँखा निस्पक्ष हुँदो हो भने। तर हाम्रो बिडम्बना, बुद्ध आज आफ्नै देशमा एक पराइ सरह भुइँमा लडिरहेका छन् भने उता पश्चिमेली धार्मिक मुल्लाहरु पैसाको आडमा नेपालीका धर्म परिवर्तन गराउँदै छन्, आज सम्म कुनै पनि मेडियाको आवाज, नेताको बिरोध र जनताको तिरस्कार देख्न सकिएको छैन यस सवालमा।

पुरातात्विक भग्नावशेष उत्खनन एबम संरक्षण त हामि नेपालिको नसामा छैननै एउटा खोक्रो आडम्बरमा र धेरथोर स्वार्थको आडमा हाम्रो नेपालि समाज बाँचिरहेको छ। बहुत दुखः लाग्दो कुरा हो यो। कस्तो अचम्म, कतिपय नेपालीहरुको गरिखाने भाँडो भएको छ बुद्ध दर्शन अहिले, कैयौं नेपालीहरु बुद्धको दर्शन फैलाउन र बुद्ध नेपालमा जन्मेका हुन भन्ने चिनाउन देश-विदेश सयर गर्दै होलान तर त्यसको के अर्थ ? आफ्नै देशमा बुद्धको बिचल्ली भएपछी। यस्तो सम्बेदनशील घटनामा सरकारले उपयुक्त समाधान खोज्नमा ढिलाई गर्नुले आगोमा घिउ त थपिरहेको छ नै हामि खोक्रो बुद्धत्वको आडम्बरमा रहेछौं भन्ने स्पस्ट हुन्छ। धिक्कार छ त्यो खोक्रो आडम्बरलाई, बिचरा अहिले त बुद्ध पनि रोए होलान नीचताको यो पराकास्ठा देखेर ……………!!!!

ई. कृष्ण भेटवाल