welovenepal.com Nepali Time
Annapurna Area
स्थापना दिवसमा महासङ्घको प्रभातफेरी सम्पन्न

काठमाडौं, चैत १७ – नेपाल पत्रकार महासङ्घले ५९औँ स्थापना दिवसको अवसरमा आईतावार बिहान राजधानीलगायत देशका विभिन्न जिल्लामा प्रभातफेरी कार्यक्रम आयोजना गरेका छन। काठमाडौंमा बबरमहलबाट सुरु भएको प्रभात फेरी नयाँ बानेश्वरमा पुगी कोणसभामा परिणत भएको थियो।

कोणसभालाई सम्बोधन गर्दै महासङ्घका अध्यक्ष शिव गाउँलेले दुई करोड ५० लाख नेपाली जनतामार्फत संविधानसभामाथि सञ्चार क्षेत्रबाट निगरानी राखिने बताउनुभयो। अध्यक्ष गाउँलेले लोकतन्त्र र नागरिक अधिकारका लागि लड्दै आएको पत्रकार महासङ्घले एक वर्षभित्र लोकतान्त्रिक संविधान जारी गर्न संविधानसभालाई निरन्तर दबाब दिने उल्लेख गर्नुभयो।

कार्यक्रममा महासङ्घका पूर्व सभापति हरिहर विरहीले वर्तमान राजनीतिक सङ्क्रमणकाललाई जतिसक्दो चाँडो छोट्याउन एक वर्षभित्र नयाँ संविधान जारी हुनुपर्ने बताउनुभयो। कार्यक्रममा नेपाल प्रेस युनियनका अध्यक्ष किरण पोखरेल, प्रेस चौतारी नेपालका अध्यक्ष राजेन्द्र अर्याल, क्रान्तिकारी पत्रकार सङ्घका अध्यक्ष गोविन्द आचार्यलगायत सञ्चारसम्बन्धी विभिन्न सङ्घ सङ्गठन र सञ्चारकर्मीको सहभागिता रहेको थियो।

यस्तै महासङ्घको स्थापना दिवसको उपलक्ष्यमा महासङ्घ मोरङ शाखाले पनि आईतावार यहाँ प्रभातफेरी एवम कोणसभाको आयोजना गरेको छ। महासङ्घको भवन कलेज रोडबाट निस्किएको प्रभातफेरी हिमालय रोड, महेन्द्र चोक, भट्टिमोड, शनिमन्दिर, जलजला चोक, कालीमन्दिर, बुधहाट चोक, ट्राफिक चोक हुदै पुनः महासङ्घको भवनमा कोणसभामा परिणत भएको थियो।

सो प्रभातफेरीमा विभिन्न सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीलगायत मानअधिकार सङ्घ सङ्गठनका प्रतिनिधिको सहभागिता थियो। सो अवसरमा महासङ्घका पूर्व अध्यक्ष मोहन भण्डारी र यज्ञ शर्माले अब बन्ने संविधानमा पत्रकार हकहित सम्बोधन हुनुपर्ने माग गर्नुभयो। महासङ्घका मोरङ अध्यक्ष महेन्द्र विष्टले आगामी एक वर्षभित्र संविधान निर्माणका लागि सञ्चारकर्मीले राजनीतिक दलहरुलाई दबाब दिनुपर्ने आवश्यक्ता ओंल्याउनुभयो।

यसैबीच नेपालवाणी, रेडियो नेटवर्कमा कार्यरत पूर्व पत्रकारले आफूले पाउनुपर्ने सेवा सुविधा नपाएको भन्दै शनिबारदेखि सुरु गरेको रिले अनशन आज पनि जारी राखेका छन्। उनीहरुले सो संस्थाको अनामनगरस्थित कार्यालयमा तालाबन्दी र धर्ना जारी राखेका छन्। समस्या समाधानका लागि आज महासङ्घको पहलमा वार्ताको तयारी भइरहेको छ।