welovenepal.com Nepali Time
Annapurna Area
मोवाइल चाहिँ कसले दियो?

प्रधानमन्त्री सुशील कोइरालाको सम्पत्ति भनेको तीन थान मोवाइल रहेछ। मोवाइल पक्कै आइफोन होला। महँगो पर्छ यो मोवाइल। यति महँगो मोवाइल कसैले उपहार दिन्छ भने पक्कै उसले प्रधानमन्त्रीबाट केही न केही लालच राखेको हुनसक्छ। होइन, म्यानमार जानुअघि टनकपुर भारतकै हो भनेर जानु भएका सुशीलजीसँग खुशी भएर डा.मनमोहन सिंहले उपहारमा दिएको हो भने झन खतरा भयो। किनकि मोवाइल भनेको कम्प्युटर नै हो र यसमा सफ्टवेयर राखेपछि सबै प्रकारका कुराकानी, सम्पर्क, आदेश, निर्णय सोझै दिल्ली पुग्नसक्छ।

आफ्नो मान्छे भनेर १६ वर्षअघि इण्डिया गेमप्लानमा सुशीलजी कोइरालाको नाम आइएसआईको एजेन्टका रुपमा दर्ज भएको थियो भने चुनावी सरकार गठन गर्ने तैयारी हुँदा सुशीलजीको नाम प्रस्तावित भएको थियो र अन्तिम समयमा प्रचण्डले हुन्न भनेर खिलराज रेग्मीको नाम पार्टी महाधिबेशनबाटै पारित गराएर ल्याउनु भयो। त्यसकारण पनि सुशीलजीको सम्पत्ति ३ थान मोवाइलामात्रै भन्दा सबै आश्चर्यमा परे। यति महँगा मोवाइलमात्रै सम्पत्ति कसरी हुनसक्छ। कतै सुशीलजीले सत्य कुरा लुकाएका त होइनन्? सुशील हाम्रा प्रधानमन्त्री हुन् र उनी स्पष्ट हुन बाँकी छ है।

सर्बहारा बर्गका समाजवादी पार्टीका सभापति सुशील कोइरालाको सम्पत्ति ३ थान मोवाइलमात्रै छ भने उनका मन्त्रीहरु सुनबुढा देखिएका छन्। मन्त्रीहरुले देखाएको सुन नै एउटैसँग ९५ तोलासम्म छ। चाँदी, हिरा, पन्ना, जवाहरात, घरजग्गा, शेयर पनि मन्त्रीहरुले प्रशस्तै देखाएका छन्। यति धेरै सम्पत्ति तिनले कसरी आर्जन गरे होलान्, प्रधानमन्त्रीले चुँ सम्म बोलेका छैनन्। अख्तियारले पनि प्रश्न उठाएको छैन। मन्त्रीहरुका सम्पत्ति घोषणा भयो, कतै यो कर्मकाण्डी प्रचलन देखाउनका लागि मात्रै हो कि? कि गरीव नेपालीहरुलाई मन्त्रीहरु पनि खर्बपति बिनोद चाैधरीजस्ता छन् भनेर देखाउन हो?

गजब त के देखियो भने मन्त्रीहरुले आफ्नो सम्पत्ति स्वआर्जन र श्रीमतीको पेवा, दाइजो भनेका छन्। राजनीतिमा लाग्नेहरुले स्वआर्जन कसरी गर्छन्? त्यसको व्याख्या, अनुमान गर्न सकिन्न। श्रीमतीले दाइजो ल्याएको हो भने त्यो दाइजोको सम्पत्ति स्वच्छ, सफा र नियमित हो भन्ने प्रमाण दिनुपर्छ कि पर्दैन? लाभ र शक्तिशाली पदमा पुग्ने जसले पनि जति पनि सम्पत्ति देखाउने र त्यो सम्पत्ति स्वआर्जन, श्रीमतीको दाइजो हो भनेपछि फच्चे हुने हो भने प्रधानमन्त्री एकजना सर्वहारा भएरमात्र के हुन्छ? उद्यमी, व्यापारी, कर्मचारी अथवा अरुलाई सम्पत्ति शुद्धिकरण गर्नुपर्ने बाध्यता रहने तर राजनीतिमा लागेकाहरुले त्यसो गर्नु नपर्ने गरी कानुनले छुट दिएको देखिदैन।

सुशीलजी शुद्ध छन्, उनी भद्र छन्, सुशीलजीले भ्रष्टाचार गरेको कुरा कोही पत्याउन सक्दैनन् तर अव प्रधानमन्त्री भएपछि आफ्नो पवित्रताको र आफ्ना मन्त्रीहरुको सम्पत्तिको स्रोत स्पष्ट खोलेर त्यसमाथि शुद्धिकरण गराउने आदेश दिनुपर्ने होइन र? एक वर्षमा संविधान घोषणा गरेर १० वर्षमा नेपाललाई सम्पन्न, सुशासनयुक्त बनाउनु पर्छ भन्ने सुशील कोइरालाले भ्रष्टाचारमुक्त छ, कुनै अपवित्र सेटिङको सिकार भएको छैन मेरो टिम भनेर देखाउनका लागि पनि सुशील र उनको मन्त्रिमण्डलको सम्पत्ति शुद्धिकरण हुनुपर्छ।