welovenepal.com Nepali Time
Annapurna Area
पानी जहाज दुर्घटनामा मृत्यु हुने संख्या १५९ पुग्यो

सउल, वैशाख १२ – दक्षिण कोरियाको समुद्रमा गत अप्रिल १६ मा भएको यात्रु बाहक पानी जहाज दुर्घटनामा हराइरहेका व्यक्तिमध्ये मृत्यु हुने व्यक्तिको सङ्ख्या १५९ पुगेको छ। उक्त घटनामा परेका यात्रुको खोजीकार्य जारी रहँदा त्यसमा परेका १५९ जनाको शव प्राप्त भएको बताइएको हो। अझै पनि सो दुर्घटनामा परेका १४३ जना व्यक्ति बेपत्ता रहेका जनाइएको छ।

सरकारले उद्धारको काममा तीव्रता दिएको जनाएको छ। अप्रिल १६ मा भएको सो दुर्घटनामा परी मृत्यु भएकामध्ये १५९ जनाको शव भेटिएको दक्षिण कोरिया सरकारले जनाएको हो। सो दुर्घटनामा बिहीबार बिहानसम्म थप ३१ जनाको शव प्राप्त भएपछि मृतकको सङ्ख्या १५९ पुगेको हो। दक्षिण कोरियाको दक्षिणी तटीय क्षेत्रमा चालक दलका सदस्यसहित ४७६ जना यात्रुका साथमा यात्रा गरिरहेको सो डुङ्गा दुर्घटनाग्रस्त भएको थियो।

दुर्घटनामा परेको सो डुङ्गामा अधिकांश माध्यमिक विद्यालयका विद्यार्थी रहेका थिए। एक स्थानीय विद्यालयका विद्यार्थीलाई अध्ययन भ्रमणमा लैजाने क्रममा सो डुङ्गा दुर्घटनामा परेको थियो। अधिकारीहरूले उद्धारको काम जारी नै रहेको बताए तापनि हराइरहेको जीवितै उद्धारको सम्भावना भने अब कम हुँदै गएको बताइएको छ।

उता अधिकारीहरुले उद्धारको कामलाई प्रभावकारी बनाउन नसकेका भन्दै हराइरहेका व्यक्तिहरुका आफन्तले सरकारको चर्को आलोचना गरेका छन्। सो जहाजका चालक दलका सदस्य र जल यातायातसम्बन्धी मन्त्रालयका अधिकारीलाई पनि पक्राउ गरी यात्रामा भएको लापर्बाहीको बारेमा अध्ययन गरिएको बताइएको छ। त्यहाँका राष्ट्रपतिले पनि गत सोमबार एक प्रतिक्रिया दिँदै सो दुर्घटना नागरिकको आमहत्यासरह भएको बताउनुभएको थियो।

उहाँले यस्ता लापर्बाहीपूर्ण काममा संलग्न रहेका व्यक्तिलाई कडाभन्दा कडा कारबाही गर्न पनि निर्देशन दिनुभएको छ। दुर्घटनाग्रस्त डुङ्गाबाट बेपत्ता भएका व्यक्तिको खोजीकार्यमा तटीय सुरक्षा गार्ड, नौसेना र निजी चालकगरी ५५० जना संलग्न रहेका जनाइएको छ। त्यसैगरी २१२ डुङ्गा र ३४ वटा विमानसमेत सो उद्धारकार्यमा संलग्न रहेको जनाइएको छ।