welovenepal.com Nepali Time
Annapurna Area
अख्तियार प्रमुख आयुक्त लोकमानसिंह कार्की मलेसियामा

क्वालालम्पुर, वैशाख १२ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की अहिले मलेसियामा छन्। मलेसियामा आयोजना भएको भष्टाचार विरुद्धबारे एक प्रशिक्षण कार्याशालामा भाग लिने क्रममा एकसाताका लागि कार्की आइतबार थाइल्याण्ड हुँदै मलेसिया आइपुगेका हुन्।

उनको नेतृत्वमा आएको आयोगको टोलीले यहाँस्थित ‘एन्टी करप्सन कमिसन’ का अधिकारी लगायत उच्च तहका सरकारी अधिकारीसंग भेट्ने कार्यक्रम रहेको जनाइएको छ। स्रोतका अनुसार मंगलबार यहांस्थित नेपाली दुतावासमा कार्कीसहितको अख्तियार टोली र ‘सीमित केही संस्थाका प्रतिनिधि’ बीच अन्तर्क्रिया भएको थियो। तर मलेसियामा रहेका नेपाली कामदारका साथै भ्रष्टाचारबारे आयोजित उक्त अन्तर्क्रिया कार्यक्रममा यहाँ सक्रिय संस्थाहरुका प्रतिनिधि लगायत नेपाली सञ्चारकर्मीलाई भने बोलाइएन।

मलेसियामा क्रियाशिल नेपाली संचारकर्मीले कार्यक्रमबारे जानकारी नदिनु दुःखद् भएको टिप्पणी गरेका छन्। ‘यसअघि सबैजसो कार्यक्रममा स्थानीय व्यवसायी, पत्रकार जनजाति लगायत संघसंस्थालाई निम्त्याउने गरेको दुतावासले मंगलबारको कार्यक्रमबारे संचारकर्मीलाई समेत कुनै पनि जानकारी नदिनु अचम्मै भयो,’ एक सञ्चारकर्मीले भने। यहाँ नेपालीका हितमा आवाज उठाउँदै आएका सक्रिय विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिले पनि आफूहरु मात्र नभई सञ्चारकर्मीलाई समेत दुतावासले नबोलाएको भन्दै रोष प्रकट गरेका छन्।

‘कार्यक्रममा कुनैपनि संघसंस्थालाई नबोलाइ दुतावासले व्यक्तिविशेषलाई छानेर बोलाएको पाइयो,’ गैरआवासीय नेपाली संघ मलेसियाका उपाध्यक्ष तथा व्यवसायी विश्व विक्रम राईले भने, ‘यसो गर्नु राम्रो होइन।’ दुतावासले सक्रिय संघसंस्थाका प्रतिनिधिलाई संस्थागत रुपमा अन्तर्क्रियामा समावेश गर्नुपर्थ्यो।’ राईले गैरआवासीय नेपाली संघको तर्फबाट संस्थागत रुपमा कोहीपनि उपस्थित नभएको दाबी गर्दै उक्त कार्यक्रममा कसैलाई पनि नबोलाइएकोप्रति दुःख व्यक्त गरे। तर यसबारे बुधबार दुतावासको प्रतिक्रिया लिने प्रयास भने सफल हुन सकेन।