welovenepal.com Nepali Time
Annapurna Area
साउथ लण्डन कलेजलाई प्रिमियम लाइसेन्स

लण्डन , वैशाख १८ – यहाँस्थित साउथ लण्डन कलेजलाई होम अफिसले प्रिमियम लाइसेन्स प्रदान गरेको छ। प्रिमियम लाइसेन्स पाउने थोरै निजी कलेज मध्ये साउथ लण्डन कलेज पनि परेको हो। अहिले बेलायतमा १ हजार ६ सय ८१ कलेज तथा विश्वविद्यालयले अन्तर्राष्ट्रिय विद्यार्थी ल्याउने अनुमति पाएका छन्।

तीमध्ये १ सय ५३ कलेज तथा विश्वविद्यालयसँग मात्र ‘प्रिमियम लाइसेन्स’ छ। बेलायतको लण्डनमा रहेको साउथ लण्डन कलेजले उक्त लाइसेन्स पाएपनि त्यहाँ अध्ययन गर्ने विद्यार्थीलाई प्लेसमेन्ट बाहेक अन्य कोर्समा काम गर्ने अधिकार हुँदैन। साउथ लण्डन कलेजले लिड्स मेट्रोपोलिटन विश्वविद्यालयको सहकार्यमा डिग्री अध्ययापन गराउनुका साथै कैयौं शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ।

लण्डन ग्रीनवीचको एउटा ऐतिहासिक भवनमा अवस्थित साउथ लण्डन कलेज कँडेल ग्रुपले सञ्चालन गरेको हो। यही समूहले नेपालमा द ब्रिटिस कलेज नामक अन्तर्राष्ट्रियस्तरको प्रिमियम कलेज सञ्चालन गरिरहेको छ। ‘हामी अहिले बेलायतले विद्यार्थीहरुका हकमा ल्याएको कडा भिषा नीति विरुद्धमा अभियान जारी राखेका छौं।

यसले बेलायतमा रहेका अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई असर त गरेको छ नै बेलायतकै इज्जत पनि विदेशी विद्यार्थी बजारमा ध्वस्त पारेको छ,’ प्रवन्ध निर्देशक राजन कँडेल भन्छन्, ‘त्यसैले हामी बेलायती सरकारलाई अन्तर्राष्ट्रिय विद्यार्थी भित्र्याउने सवालमा खुकुलो नीति ल्याउन आग्रह गर्दछौं।’