welovenepal.com Nepali Time
Annapurna Area
पिढित परिवारहरुको नेपाली समुदायले सहयोग गर्ने

सउल, वैशाख १८ – यहि अप्रील १६ का दिन दक्षिण कोरियाको ईन्छनबाट जेजु टापुतिर जाँदै गरेको पानी जहाज बीच समुन्द्रमा दुर्घटना भई हालसम्म १८८ जनाको मृत्यु भैसकेको छ भने ११४ जनाको स्थिती अझै अज्ञात रहेको छ। दुर्घटना भएको १० दिन बितिसक्दा पनि हालसम्म हराईरहेका १ सय भन्दा बढीलाई निकाल्न सकिएको छैन।

दक्षिण कोरियालाई कर्म भूमिको रुपमा आत्मसात गरिरहेका हामी नेपालीहरुले यस घटनालाई टुलुटुलु हेर्दै दुःख प्रकट गरिरहेका छौं। हामीसंग यो भन्दा बढी अरु केही गर्न सामर्थ्य छैन। तर यस बेला हामीले गर्न सकिने भनेको एउटै छ त्यो हो हामी नेपालीहरु सबै मिली यस घटनाले ज्यान गुमाएका ब्यक्तिहरुको परिवारलाई सहयोग गर्ने काम।

यहि कामलाई अघि बढाउनका लागि दोङ्देमुनमा ब्यवसाय गरिरहनु भएका ध्यान राईको समन्वयमा उक्त परिवारलाई सहयोग गर्ने अभियान सुरु भएको छ। उनी भन्छन् हामीले केही मात्रामा भएपनि ती परिवारहरुलाई सहयोग गर्न सक्यौं भने भोली हाम्रो देशको नाम पनि कोरियनहरुको नजरमा उच्च स्थानमा पुग्न सकिनेछ। हामी नेपालीहरु कोरियामा धन कमाउनका लागि आएका हौं तर हामीसंग स्वच्च मन र सहयोगी भावना पनि रहेछ भनेर हामीले छर्लङ्ग पार्न सक्दछौं उनले भने।

आफ्ना सन्तान गुमाएका परिवारहरुको दुःखमा हामीले पनि साथ दिन सक्छौं। भनिन्छ दुःखमा साथ दिए दुःख कम हुन्छ यसर्थ ती परिवारको दुःखमा साथ दिनका लागि दक्षिण कोरियामा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीवहिनीहरु एवम् नेपाली संघसंस्थाका पदाधिकारीहरुलाई आफुले सक्ने सहयोग गर्न अनुरोध गरिएको छ।

सम्पर्कका लागिः निक कम्पनीः 010-8852-9771

पुरु जोशी