welovenepal.com Nepali Time
Annapurna Area
इजिप्टमा ब्रदरहुडका नेतासहित ६८३ लाई एकसाथ मृत्युदण्ड

कायरो, वैशाख १८ – इजिप्टको एक अदालतले विपक्षी मुस्लिम ब्रदरहुडका नेता मुहम्मद बादीसहित ६ सय ८३ जनालाई सोमबार एकै पटक मृत्युदण्डको सजाय सुनाएको छ। उनीहरू हाल थुनामा रहेका पूर्वराष्ट्रपति मुहम्मद मुर्सीका समर्थक हुन। सजाय पाएकामध्ये ५० जना थुनामा छन्।

बादी र अन्यमाथि सन् २०१३ को १४ अगस्टमा मिन्याको एक प्रहरी कार्यालयमा आक्रमण गरेको अभियोग थियो। आक्रमणमा एक प्रहरीको मृत्यु भएको थियो। त्यो दिन प्रहरीले राजधानी कायरोमा भएको झडपमा ब्रदरहुडका सयौं समर्थकको हत्या गरेको थियो। एउटा बेग्लै मुद्दामा अदालतले गत वर्ष मार्चमा फाँसीको सजाय सुनाएका ५ सय २९ मध्ये ४ सय ९२ लाई राहत दिएको छ।

तीमध्ये ३७ जनाको सजाय आजीवन काराबासमा परिणत गरिएको छ। उनीहरूमाथि अर्को एक प्रहरी कार्यालयमा आक्रमण गरेको अभियोग थियो। यी मुद्दाका सुनुवाइ प्रक्रियाको मानव अधिकारकर्मी र राष्ट्रसंघले आलोचना गरेका छन्। मानव अधिकार संगठन वाचका अनुसार सुनुवाइका लागि केही समय मात्र निर्धारित गरिएको थियो भने बचाउ पक्षका वकिललाई अदालतले बोल्न दिएन।

अदालती कारबाहीलाई पूर्वनिर्धारित र गोलमाल भन्दै विपक्षी वकिलले अन्तिम सुनुवाइ नै बहिस्कार गरेका थिए। बचाउ पक्षका वकिल खालेद इल्कोमीले सजाय सुनाइएकामध्ये ६० प्रतिशत आक्रमणका बेला उपस्थित नभएको प्रमाण रहेको बताए। यसमा चिकित्सक र शिक्षकसमेत छन्। सरकारले गम्भीर अध्ययनपछि मुद्दा चलाएको र सबैलाई पुनरावेदनको अधिकार भएको बताएको छ।

सैनिक समर्थित सरकारको विरोध गर्ने कम्तीमा हजारजनालाई गत डिसेम्बरदेखि सजाय सुनाइएको छ। मृत्युदण्ड नदिइएकालाई ६ महिनादेखि आजीवन काराबाससम्मको सजाय छ। शृंखलाबद्ध विस्फोट र आक्रमण गरेको आरोप लगाउँदै ब्रदरहुडलाई सरकारले आतंककारी समूहमा राखेको छ।

अदालतबाहिर कुरिरहेका महिलाहरू फैसला सुनेपछि बेहोस भएका थिए। आफन्तको तस्बिरसहित आएकाहरूबीच रुवाबासी मच्चिएको थियो। धेरैजसोले यस्तो सजाय सुनाइएकाहरू निर्दोष भएको बताइरहेका थिए। सजाय पाएकामा १५ वर्षका किशोरसमेत छन्। तीन वर्षअघि मृत्यु भइसकेकालाई पनि सजाय सुनाइएको छ।

राष्ट्रसंघीय मानव अधिकार आयुक्तले गत महिना अदालती प्रक्रियाको निन्दा गर्दै अन्तर्राष्ट्रिय मानव अधिकार कानुन उल्लंघन भएको बताएका थिए। गत वर्षको जुलाईमा मुर्सीलाई सत्ताच्यूत गरेपछि भएका संघर्षमा सयौंको ज्यान गएको छ। सयौंलाई प्रहरीले पक्राउ गरेको छ।

सन् २०११ को आन्दोलन उक्साउने एक युवा समूहमाथि पनि सोमबार अदालतले प्रतिबन्ध लगाएको छ। उक्त आन्दोलनकै कारण होसनी मुबारक सत्ताच्युत भएका थिए। अदालतले गरेको उक्त सजायलाई औपचारिक स्वीकृतिका लागि इजिप्टमा शीर्ष इस्लामिक महागुरुसमक्ष पठाइएको छ। यसबारे जुनमा अन्तिम फैसला हुनेछ।