welovenepal.com Nepali Time
Annapurna Area
हिमाली जिल्ला मुगुमा यार्सागुम्बु टिप्ने तयारी सुरु

काठमाडौँ, वैशाख १८ – यार्सागुम्बाको सिजन सुरु हुनै लाग्दा संकलकहरू आवश्यक सामग्रीको जोहोमा जुटेका छन्। हिमाली भेगमा लामै समय बस्नुपर्ने भएकाले नजिकका बजारबाट आवश्यक औजार र दैनिक उपभोग्य वस्तु किन्नेको भिड लागेको छ। नागरिकन्यूज डट कमका अनुसार पूर्वी भेगका मुगु र डोल्फु गाविसमा पाइने मूल्यवान् जडीबुटी संकलन गर्न बाहिरी जिल्लाका पनि आउँछन्।

मुगु गाविसले जेठ १० गतेबाट वनप्रवेशको मिति तोकेको छ। यार्सागुम्बाको स्थानीय मूल्य प्रतिगोटा ५ सय रुपैयाँबढी तथा प्रतिकेजी १८ लाख पर्छ भने राजधानी र तिब्बतमा प्रतिकेजी २५ लाखदेखि ३५ लाखसम्ममा कारोबार हुन्छ। यार्सा संकलनका लागि हुम्ला, जुम्ला, बाजुरा, अछाम, बझाङ, जाजरकोट, सुर्खेत, दैलेखसम्मका मानिस मुगुका हिमाली क्षेत्र पुग्ने गरेका छन्। ‘यसपालि म पनि बासँग किडा (यार्सा) टिप्न जान्छु, पढाइखर्च जुटाउन सकिन्छ कि? विद्यालयमा अहिले पढाइ पनि छैन,’ जुम्ला, पातारासी–१ का १२ वर्षे मुनबहादुर सार्कीले भने।

बुबा र १५ वर्षे दिदी रीताका साथ उनी यसापलि पहिलोचोटि मुगुको हिमाली भेग जान लागेका हुन्। हिमाली क्षेत्रका छापा खोला, सानो कोइकी, ठूलो कोइकी, रिमारलगायत वनक्षेत्रमा यार्सा पाइन्छ। प्रत्येक वर्ष त्यहाँ पुग्ने ९हजारबढी संकलकमध्ये २५ प्रतिशत बालबालिका, २० प्रतिशत महिला र बाँकी पुरुष हुन्छन्। प्रत्येक वर्ष यार्सा टिपेर ३० देखि ४० हजार कमाउने नन्द यसपालि छोराछोरी पनि लिएर जाँदा कमाइ बढ्ने आशामा छन्।

बालबालिकाका चनाखा आँखाले यार्सा सजिलै देख्ने र ठूलाले भन्दा बढी टिप्ने विश्वासमा बाबुआमाले छोराछोरी पनि लैजाने गरेका हुन्। ‘आउनेजाने समयबाहेक ६–७ दिन यार्सा खोज्न सकिए यसपालि ५० हजार देखि २ लाखसम्म कमाउने आस छ,’ सार्कीले भने। यार्साको आम्दानीले छोराछोरीका लागि कापीकलम, घरपरिवारलाई लुगाफाटो जोड्न सजिलो पर्ने उनी बताउँछन्।