welovenepal.com Nepali Time
Annapurna Area
अर्थतन्त्र चालू वर्षमा ५ दशमलव १५ प्रतिशत हुने अनुमान

काठमाडौँ, वैशाख १८ – मुलुकको अर्थतन्त्र चालू आर्थिक वर्षमा ५ दशमलव १५ प्रतिशतले बढ्ने प्रक्षेपण केन्द्रीय तथ्यांक विभागले गरेको छ। सोमबार सार्वजनिक गरिएको सो प्रक्षेपण ८ महिनाको आर्थिक गतिविधिको आधारमा गरिएको हो। कृषि र सेवा क्षेत्रमा भएको वृद्धिले समग्र आर्थिक वृद्धिदर ६ वर्षयताकै उच्च आर्थिक वृद्धि हासिल हुने सम्भावना देखिएको हो।

विभागका अनुसार प्राथमिक क्षेत्रअन्तर्गत पर्ने कृषि, वन, खानी क्षेत्र ४ दशमलव १ प्रतिशतले विस्तार हुनेछ। त्यस्तै निर्माण, उद्योग र विद्युत्, ग्यास तथा पानी समेटिएको द्वितीय क्षेत्रको वृद्धिदर २ दशमलव ६९ प्रतिशत हुने प्रारम्भिक अनुमान छ। यसैगरी सेवा क्षेत्र समेटिएको तृतीय क्षेत्र ६ दशमलव १३ प्रतिशतले विस्तार हुने अनुमान विभागको छ।

ईकान्तिपुर अनलाईनका अनुसार कृषि क्षेत्रको मात्रै वृद्धिदर ४ दशमलव ७२ हुने प्रक्षेपण छ। धान, मकै र गहुँ तीनै मुख्य खाद्यान्न बालीको उत्पादन बढेकाले कृषि क्षेत्रमा सकारात्मक असर परेको हो। यस वर्ष धान १२ दशमलव ०४ प्रतिशत र मकै उत्पादन ९ दशमलव ८५ प्रतिशतले बढेको छ। यसपालि गहुँ उत्पादन पनि ६ दशमलव ०५ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान छ।

खानी तथा उत्खनन, त्यस्तै औद्योगिक उत्पादनतर्फ कंक्रिट, चिनी, अल्मुनियम, वनस्पती घिउ, कागज, साबुन, बिस्कुट, प्रशोधित चिया, बियर आदिको उत्पादनमा आएको ह्रासले यस क्षेत्रको वृद्धिदर न्यून देखिएको छ । पर्यटक आगमनमा हुने वृद्धिले होटल तथा रेस्टुरेन्ट क्षेत्रमा ७ दशमलव १० प्रतिशतको वृद्धि देखिने प्रक्षेपण विभागको छ। तर उद्योग क्षेत्रको विस्तार भने निराशाजनक छ। विभागको तथ्यांकअनुसार उद्योग क्षेत्र १ दशमलव ८६ प्रतिशतको झिनो दरले मात्रै विस्तार हुनेछ।

यसैविच प्रधानमन्त्री सुशील कोइरालाले १० वर्षमा देशमा कायापलट गर्ने बताउनुभएको छ। नेपालमा भएको प्राकृतिक स्रोत साधनको सही सदुपयोग गर्न सके चाँडै नेपाल समृद्ध हुने भन्दै कोइरालाले देशलाई समृद्ध बनाउन आफूहरु लागि परेको बताउनुभयो। भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नम्बर १६ मा निर्माण भएको बिपी नेत्र प्रतिष्ठानको उद्घाटन गर्न पुगेका कोइरालाले एक वर्षमा जुनसुकै हालतमा संविधान जारी हुने बताउनुभयो।

संविधान निर्माणको एकमात्र लक्ष्य लिएर सरकार गठन भएको भन्दै कोइरालाले सानो तिनो अल्झनले सरकार नरोकिने र तोकिएकै समयमा संविधान जारी हुने बताउनुभयो। द्वन्द्वले कसैलाई फाइदा नगर्ने सबैको हानी गर्ने भन्दै कोइरालाले सबै एकजुट भएर अघि बढ्नु आजको आवश्यकता रहेको बताउनुभयो। २९ करोडको लागतमा निर्माण भएको विपी नेत्र प्रत्रिष्ठानले आफ्नो कार्य सुरु गरेको अनलाईन खबरले लेखेको छ।