welovenepal.com Nepali Time
Annapurna Area
अर्घाखाँची दुर्घटनामा १९ जनाको मृत्यु, २७ जना घाइते

अर्घाखाँची, वैशाख १८ – अर्घाखाँचीको नरपानीमा आज दिउँसो भएको बस दुर्घटनामा परी १७ जनाले ज्यान गुमाएका छन्। नरपानी ५ जगत भन्ने स्थानमा बस र ट्रक एक आपसमा ठोक्किएर दुर्घटना हुँदा १३ जनाको घटनास्थलमा र ४ जनाको उपचारका क्रममा जिल्ला अस्पताल सन्धीखर्कमा मृत्यु भएको हो।

दुर्घटनामा २७ जना यात्रु घाइते भएका छन्। मृतक मध्ये जिल्ला अस्पताल अर्घाखाँचीमा कार्यरत वाङ्लाका डा. विष्णु आचार्य, उनका बुबा जनार्दन आचार्य, खाडास्थित ज्योति माध्यामिक बिद्यालयका प्रमुख गणेश बेलबासे, खाडाकै अनिता बेलबासे, धारापानीका नरेन्द्र बन्जाडे र बुटबलका कृष्ण श्रेष्ठ, नरपानी ९ की धनसरी बगाले मगर, डाडावाङका जनक खनाल, जुकेनाकी तिनकला बेलवासे, बुटवल ७ की छमी श्रेष्ठ, भारत विहारका नुर आलम, यामासुदिन र मुगत लाहा लम्बुको मात्र सनाखत भएको छ।

दुर्घटनामा परी घाइते भएकाहरु मध्ये २३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। गम्भीर घाइतेहरुलाई थप उपचारका लागि सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ भने अन्यको अर्घाखाँचीमा उपचार भइरहेको छ। अर्घाखाँचीबाट बुटवल जाँदै गरेको बस विपरित दिशाबाट आएको ट्रकसँग ठोक्किएको थियो।

घटनास्थलमा नेपाल प्रहरी, नेपाली सेना र स्थानियबासीले उद्धार गरेका थिए। साँघुरो सडकमा दुबैतर्पmबाट गाडी तीव्र गतिमा आउँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। ट्रकसँग ठोक्किएर बस सडकबाट डेढ सय मिटर तल खसेको थियो।उता, सोही दुर्घटनाका घाइतेलाई लिन जाने क्रममा लु१ज १३२९ नम्बरको जिप सन्धीखर्क ६ स्यालेमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। उक्त दुर्घटनाका मृतकहरुको पनि सनाखत हुन सकेको छैन।