welovenepal.com Nepali Time
Annapurna Area
भैरहवामा पेट्रोलियम पदार्थको कृत्रिम अभाव सिर्जना

भैरहवा, बैशाख २३ – डिजेल चोरी काण्डमा मुछिएका रुपन्देहीका प्रतिष्ठित व्यवसायीका ट्याङ्करलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेपछि बजारमा पेट्रोलियम पदार्थको कृत्रिम अभाव सिर्जना भएको छ। व्यवसायीहरुले प्रहरीले पक्राउ पुर्जी जारी गरेर आफुहरुलाई तर्साएको भन्दै पेट्रोलियम पदार्थको कृत्रिम अभाव सिर्जना गरेका हुन्।

अनुसन्धानका क्रममा डिजेल चोरीकाण्डमा दोषी देखिएपछि आयल निगमले १९ वटा ट्याङ्करसँगको सम्झौता खारेज गरेको थियो। १९ वटा ट्याङ्करमाथि कारवाही भएपनि अरु व्यवसायीले समेत निगमबाट पेट्रोल पम्पसम्म इन्धन आपूर्ति गरेका छैनन्। सतर्कता केन्द्र, रुपन्देही प्रहरी र आयल निगमको अनुसन्धानबाट १९ वटा ट्याङ्कर र तीनका सञ्चालकसमेत दोषी ठहर गरेपछि ट्याङ्कर व्यवसायीहरुले उनीहरु निर्दोष रहेको दाबी गर्दै आएका छन्।

बरिष्ठ ब्यक्ति र अध्यक्षहरु नै तेल चोरी काण्डमा मुछिएपछि आयल निगमले इन्धनको आपूर्ति गरेपनि इन्धन वितरण नगरेर ट्याङ्कर व्यवसायीहरुले नै अभाव सिर्जना गरेको पाइएको छ। बजारमा पेट्रोल, डिजेलको अभाव भएपछि सर्वसाधारण मर्कामा परेका छन्। धेरैजसो मोटरसाईकल चालकहरु पेट्रोल नपाएपछि तेलको खोजीमा भौतारिनुपरेको बताएका छन्।

पेट्रोल पम्पहरुले धनीहरुको निर्देशनमा पम्पमा भएको तेल समेत वितरण नगर्दा सर्वसाधारण मर्कामा परेका हुन्। कहिले मूल्यबृद्धि त कहिले व्यक्तिगत स्वार्थका कारण कृत्रिम रुपमा तेलको अभाव सृजना हुँदा समेत सम्बन्धित निकाय भने मौन रहेको छ। नेपाल आयल निगम पश्चिमाञ्चल क्षेत्रिय कार्यालय भलवारीले तेलको अभावको बारेमा समयमै चासो नदिएकाले पनि बजारमा पेट्रोलियम पदार्थको अभाव देखिएको हो।

तेल चोरी प्रकरणमा छानविनलाई बहाना बनाएर तेल आपूर्ति बन्द गर्नु दुःखद भएको पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनका अध्यक्ष राजेन्द्र गुप्ताले बताउनुभयो। यस विषयमा आयल निगम क्षेत्रीय कार्यालय भलवारीका प्रमुख नागेन्द्र कुर्मीले ट्याङ्कर व्यवसायीले इन्धन आपूर्ति रोकेको बताउनुभयो। उता ढुवानी व्यवसायीहरुले भने भारतको बेतालपुरदेखि नेपालको भलवारीसम्म तेल पुर्‍याउने जिम्मा चालकको र चेकजाँचको जिम्मा निगमका कर्मचारीहरुको भएको भन्दै तेल चोरी प्रकरणमा सबै दोष ट्याङकर चालकहरु र कर्मचारीहरुमाथि थोपरेका छन्।

लक्ष्मण पौडेल