welovenepal.com Nepali Time
Annapurna Area
पर्वतका दुई दाजुभाइद्वारा पोखरामा टर्की पालन

पर्वत, वैशाख २३ – पर्वत आर्थर डाँडाका नवराज क्षेत्री र उनका भाइ विष्णु क्षेत्रीले अमेरिका तथा अफ्रिका जस्ता मुलुकमा बढी पाइने गरेको टर्की जातको पंक्षी पोखरामा नै पालन गरेर देखाएको छ। गर्मी मौसममा पाइने यो जातको पंक्षिको व्यावसायिक रुपमा दुई दाजुभाइले विगत ३ वर्षदेखि पोखराको बाटुलेचौर १६ जिल्ला वन नर्सरीको नजिकै २७ रोपनी क्षेत्रफल जग्गा भाडामा लिएर व्यावसायिक रुपमा टर्की पालन सुरु गरेका हुन्।

कारोबार अनलाइनका अनुसार भारतमा १२ वर्ष विभिन्न पंक्षि सम्बन्धी काम गरेका नवराजले नेपाल प्रहरीमा समेत ६ वर्ष काम सेवा गरिसक्नु भएको हो। २०५७ सालमा फर्निचर उद्योग खोलेका उहाँका भाइ नेपाल प्रहरीबाट रिटायर भएपछि सामुहिक रुपमा टर्की जातको पंक्षी व्यावसायिक रुपमा पालन गर्ने निधो गरी टर्की पालनमा लाग्नुभएको हो। नेपालमा व्यवासायिक रुपमा टर्की जातको पंक्षी पालन गर्ने आफूहरु नै पहिलो भएको दाबी गरेका क्षत्री दाजुभाइले आफूहरु यस क्षेत्रमा रोल मोडलको रुपमा देखा पर्न चाहेको बताउनुभयो।

टर्की पालन व्यावसायलाई अझ व्यापक विकास तथा विस्तार गर्न बाँकी रहेको बताउदै क्षेत्री दाजुभाइले टर्की पालन गर्न इच्छुक व्यत्तिहरुलाई आफूहरुले चल्ला सहित प्राविधिक ज्ञान समेत दिने गरेको दाबी गर्नुभयो। १८ लाखको लागतमा सुरु गरेका दुई दाजुभाइको हालको पुँजी करीब ३० लाख पुगेको छ। टर्कीको मासु प्रतिकेजी एक हजार देखि १ हजार २ सय रुपैयाँसम्म पर्दछ।

यसमा सेतो टर्कीको मूल्य एक हजार पर्दछ। सामान्यतया एउटा टर्की २० देखि २५ केजी सम्मको हुने गरेको नवराजले बताउनुभयो। त्यसै गरी क्षत्री दाजुभाइले टर्कीको साथमा अफ्रिकन लौकात (ज्ञानीफल), दक्षिण भारतमा पाइने कडकनाथ, पाकिस्थान तथा अफ्गानिस्तानमा पाइने फाइटर, विश्वका धेरै मुलुकमा पाइने वटाई सहित स्थानीय जातका पंक्षीहरु पालन गर्दै आएका छन्। प्रत्यक हप्तामा २ सयको हाराहारीमा टर्कीका चल्ला उत्पादन हुने गरेको नवराजले बताउनुभयो।

करीब एक हजारवटा टर्की जातका पंक्षी आफूहरुसँग भएको बताएका नवराजले नेपाली भन्दा बढी विदशीहरुले नै बढी मन पराउने गरेको बताउनुभयो। प्राय गरी क्रिष्चियनहरुले क्रिसमसको अवसरमा बढी खाने गरेको भए पनि पछिल्लो क्रममा नेपालीहरुले बिषेश अवसरमा टर्कीको मासु खाने गरेको नवरजले बताउनुभयो। अन्य जातको कुखुरा भन्दा मङगो भएकोले पनि नेपालीहरुले कम खाने गरेको उहाँले सुनाउनुभयो। यसको सेतो मासु हुने भएकोले स्वास्थ्यका दृष्टिले फाइदाजनक भएको उहाँले दाबी गर्नुभयो।

टर्कीको मासुका लागि पोखरामा फ्रेस हाउस सहित टर्कीको साथमा बाख्रा पालन समेत सुरु गर्ने आफूहरु तयारीमा रहेको क्षत्री दाजुभाईले बताउनुभयो। तापक्रमका दृष्टिले चल्ला हुर्काउन निकै किठन हुने गरेको गुनासो गरेका नवराजले लोडसेडिङले गर्दा आफूहरुको टर्की व्यवासायलाई समेत मारमा पारेको बताउनुभयो। जै घाँस तथा नेपियर घाँस सहित घर गाँउमा उत्पादन हुने अन्नवालीबाटै टर्कीलाई दानाको रुपमा दिदै आएको नवराजले बताउनुभयो।