welovenepal.com Nepali Time
Annapurna Area
नेपालमा विद्यालयको सहयोगार्थ लण्डनमा पदयात्रा

लण्डन, वैशाख २३ – मे महिनाको पारिलो बिहान मध्य लण्डनको विश्व चर्चित ट्राफलगर स्क्वायरमा बैशाखी २०१४ को तयारीका लागि बिहानैदेखि आप्रवासी पन्जाबी मूलका ब्रिटिश भारतीय महिला तथा पुरुषहरु भेला भैरहेका थिए। कोही स्टेज तयार पार्दैथिए भने कोही समोसा लगायत भारतीय व्यन्जन तयार गर्दै थिए दिउँसो आउने हजारौं दर्शकहरुलाई निशुल्क भोजन गराउन।

विभिन्न समुदायबीच सदभाव बढाउने उद्देश्यले विभिन्न ब्रिटिश संस्था लगायत लण्डनका मेयरको कार्यालयले पनि सो समारोहलाई सघाएको थियो। त्यसै मेसोमा प्रसिद्ध ट्राफलगर स्क्वायरको उत्तरी कुनामा हालै स्थापना गरिएको निलो भालेको विशाल मूर्ति नजीकै बीसजनाभन्दा बढी नेपालीहरु भेला भएका थिए। उद्देश्य थियो, पदयात्रा गरी पश्चिम नेपालको दाङ्ग चौघेरास्थित श्री गोरक्ष रत्ननाथ माध्यमिक विद्यालयका लागि सहयोग जुटाउनु।

ट्राफलगर स्क्वायरदेखि एम्ब्याङ्कमेन्ट, साउथ ब्याङ्क, लण्डन ब्रिज, टाजर ब्रिज हुँदै लण्डन आउने सबैजसो पर्यटकहरु पुग्ने लन्डन आई नजीकै रहेको जुब्ली गार्डेन सम्म झन्डै दुई घण्टा लगाएर उक्त टोलीले यात्रा पुरा ग-यो। मलेसियाको पर्यटन बोर्डले सोही दिन मलेसियामा पर्यटन प्रबर्द्धन गर्न प्रचार सामग्रीहरु बाँडीरहेको थियो भने मलेसियाली खाना पनि बिक्री गरिँदै थियो।

रमाइलो पदयात्राको समापनमा बोल्दै बीबीसी नेपाली सेवाका पूर्व प्रमुख तथा नेपाली साहित्य विकास परिषद युकेका अध्यक्ष खगेन्द्र नेपालीले यो बाटो आफु निकै पटक हिंडेको तर एउटा सामाजिक कामको लागि सामूहिक यात्रा गर्न पाउदा निकै खुसी लागेको बताए। उनले बेलायतमा रहेको नेपाली समुदायले गरेको सानो सहयोग पनि नेपालमा निकै महत्वपूर्ण हुने बताउँदै यस्ता रचनात्मक काममा सघाउन सबैलाई आग्रह पनि गरे।

हेल्प नेपाल नेटवर्क युकेका सल्लाहकार तथा विश्व हिन्दु महासंघ युकेका अध्यक्ष चीरन्जीवी ढकालले दाङगको विद्यालयका लागि सहयोग गर्न पाएकोमा खुसी ब्यक्त गर्दै आफ्नी श्रीमती निर्मला ढकालले थालेको सहयोग संकलन अभियानमा सघाउने सबैलाई धन्यवाद दिए। उनले आगामी दिनमा पनि यस्तै रचनात्मक कामहरुमा हातेमालो गरी अगाडि बढ्न सबैलाई आह्वान पनि गरे।

नेपाल पत्रकार महासंघ युके शाखाका वरिष्ठ उपाध्यक्ष नरेश खपांगी मगरले विद्यालयलाई सहयोग जस्तो पुनित काममा सहभागी हुन पाएकोमा खुसी व्यक्त गर्दै सामाजिक कार्यमा सक्दो सघाउने नेपाली प्रवृत्तिको सराहना गरे। उनले यस्ता कल्याणकारी कामका समाचारहरुलाई अग्र स्थान दिएर सहयोगी भूमिका निर्वाह गर्न सन्चार माध्यमहरुलाई आग्रह पनि गरे।

सो अवसरमा सहभागीहरुले गीत, कविता, मुक्तक वाचन गर्नुका साथै जोक्सहरु पनि सुनाएका थिए। संकलित सबै रकम हेल्प नेपाल नेटवर्क युके मार्फत उक्त विद्यालयमा कक्षा कोठा निर्माण गर्न उपलब्ध गराइने बताइएको छ। सहभागीहरुले स्वास्थ्यलाई पनि फाइदा हुने र सामाजिक काममा पनि सहयोग पुग्ने भन्दै पदयात्रा जस्ता रचनात्मक कदमको प्रशंसा गरेका थिए।