welovenepal.com Nepali Time
Annapurna Area
सगरमाथामा ज्यान गुमाउनेहरुलाई अमेरिकामा सम्झिए

न्यूयोर्क, वैशाख २३ – सगरमाथा आरोहणको क्रममा हिउँ पहिरोमा परी ज्यान गुमाउनेहरुको परिवारको सहयोगार्थ अमेरिकाको न्यु हेम्प्शायर राज्यमा हालै एक कार्यक्रम सम्पन्न भयो। सोलुखुम्बु जिल्ला कुरिमा गाऊ घर भै हाल न्यु हेम्प्शायर राज्यको डोभर शहरमा बसोबश गर्नु हुने लाक्पा शेर्पा र उहाको परिवारले उक्त कार्यक्रमको आयोजना गर्नु भएको थियो।

न्यु हेम्प्शायर राज्यको बिभिन्न शहरहरु म्यानचेस्टर, हुक्सेट, कंकार्ड, नास्वा, डेरी, रोचेस्टर, डोभर लगाएतका नेपालीहरु बसोबाश भएको क्षेत्रहरुवाट उक्त कार्यक्रमा अतिथिहरु आउनु भएको थियो। लाक्पा शेर्पा स्वयमले संचालन गर्नु भएको उक्त कार्यक्रममा उहाले शेर्पा र सगरमाथा सम्बन्धमा तथ्यगत बिबरण पेश गर्नु हुँदै आफ्नो मन्तब्य व्यक्त गर्नु भएको थियो ।

पेमा छेवांग शेर्पाले कविता वाचन गर्नु हुँदै बीरगति प्राप्त गर्नु हुने आरोही प्रति श्रदान्जली र उनीहरुको परिवारमा सहयोग प्राप्त होस् भन्ने कामना गर्नु भयो।दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै एक मिनेट मौन धारण गरी शुरु गरिएको उक्त कार्यक्रममा न्यु हेम्प्शायर नेपाली समाजका वर्तमान अध्यक्ष रबिन थापा र भुतपुर्व अध्यक्ष मीन गौतमले छोटो मन्तब्य राख्नु भएको थियो।

क्याटरिङ्ग लगाएतका सम्पूर्ण खाना खर्च लाक्पा शेर्पा स्वयमले व्यहोर्ने र त्यहाँ उठेको सम्पूर्ण सहयोग रकम ज्यान गुमाउने हरुको परिवारमा हस्तान्तरण गरिने कुरा आयोजकले घोसणा गर्नु भएको थियो । उक्त कार्यक्रममा जम्मा ४५०० डलर आर्थिक सहयोग संकलन भएको थियो।