welovenepal.com Nepali Time
Annapurna Area
बोको हरामद्वारा अपहृत बालिकालाई बेचिदिने चेतावनी

काकानो, वैशाख २३ – नाइजेरियाको उत्तरी भागबाट सयौं बालिका अपहरण गरेको दाबी गर्दै बोको हराम समूहले उनीहरूलाई दासको रूपमा बेचिदिने चेतावनी दिएको छ। गत १४ अप्रिलमा भएको सामूहिक बालिका अपहरणको यस घटनाको अन्तर्राष्ट्रिय रूपमा भत्र्सना भएको थियो। बोको हरामको अर्थ ‘पश्चिमा शिक्षामाथि प्रतिबन्ध’ हो।

बोको हरामका नेता अबुबाकर सेकाउले उक्त सम्बन्धमा ५७ मिनेट लामो भिडियो सन्देश सार्वजनिक गरेका छन्। समाचार एजेन्सी एएफपीले उक्त भिडियो प्राप्त गरेको थियो। नाइजेरियाको बोर्नो राज्यको चिबोकमा आवासीय विद्यालयबाट २ सय ७६ विद्यार्थी तीन साता अगाडि अपहरण गरिएका थिए। तीमध्ये ५३ बालिका लडाकुबाट भाग्न सफल भए भने २ सय २३ बालिकाको अवस्था अझै अज्ञात छ।

विद्यालयको अन्तिम वर्षमा अध्ययरत उनीहरू १६ देखि १८ वर्ष समूहका छन्। उक्त समूहले यसअघि थुप्रै शैक्षिक संस्थामा आक्रमण गरिसकेको छ। ती बालिकालाई विद्यालय पठाउनुको साटो बिहे गरिदिनुपर्ने उनले भनेका छन्। बन्दुकधारीहरू बालिका अध्ययन गर्ने विद्यालयबाट उनीहरूलाई ट्रकमा हाली झाडीतर्फ लगेका थिए। सेकाउले पश्चिमी शिक्षा बन्द हुनुपर्ने र बालिकाले विवाह गर्नुपर्ने आफ्नो अडान रहेको बताएका छन्।

चिबोकका स्थानीय नेताहरूले यी बालिकालाई नाइजेरियाको चाड र क्यामरुनसँगको सीमामा लगिएको र १२ अमेरिकी डलरसम्ममा बेचिएको बताएको अपुष्ट समाचार प्राप्त भएको छ। सन् २००९ देखि बोको हरामले उक्त मुलुकको उत्तरी भागमा घातक आक्रमण गरिरहेको छ। हजारौंले यस द्वन्द्वमा ज्यान गुमाइसकेका छन्। यस वर्ष मात्र यस्ता आक्रमणका कारण १५ सयको मृत्यु भएको छ।

यसपछि राष्ट्रपति गुडलक जोनाथन तथा उनको प्रशासनमाथि उक्त समूहविरुद्ध कारबाही गर्ने दबाब बढेको छ। जोनाथनले आइतबार ती बालबालिकालाई पत्ता लगाएर परिवारमा फर्काइने वचन दिएका छन्। उनले यो राष्ट्रका लागि पीडादायक क्षण भएको बताए। उनले यसका लागि अमेरिकासहित विदेशी शक्तिको सहयोग खोजिएको जानकारी दिए।

उनले बालिकालाई छुटाउनेतर्फ खासै पहल गरेको देखिएको छैन। उनको आश्वासनबाट नागरिक पनि विश्वस्त देखिन्न। अपहरणको विरोधमा आयोजित प्रदर्शनलाई सहयोग गर्ने चिबोक समुदायकी महिला नाओमी मुताहलाई प्रहरीले पक्राउ गरेको केही घण्टा पछि छाडेको छ। उनी प्रथम महिला पेसेन्स जोनाथनले यही सम्बन्धमा आह्वान गरेको बैठकमा सहभागी हुन गएकी थिइन्।

पीडित परिवार आफैं नआई उनलाई पठाएको, सरकारलाई बद्नाम गर्ने नियतले उनले प्रकरणलाई बढाईचढाई प्रस्तुत गरेको र उनी बोको हरामको समर्थक रहेको आरोप लगाएकी छन्। मुताहले राजधानी अबुजामा गत साता विरोध प्रदर्शनको आयोजना गरेकी थिइन्। उनका पक्षधरले यो पक्राउ गैरकानुनी भएको र ढिलोचाँडो प्रथम महिलाले यसलाई बुझेर कदम चाल्ने बताएका थिए।