welovenepal.com Nepali Time
Annapurna Area
सहर नियन्त्रण गर्न विशेष सुरक्षाबल परिचालन

ओडेसा, वैशाख २३ – युक्रेनले दक्षिणी सहर ओडेसालाई रुस समर्थक पृथकतावादीको नियन्त्रणबाट मुक्त गराउन विशेष सुरक्षाबल परिचालन गर्ने भएको छ। युक्रेनी गृहमन्त्री आर्सन अभाकोवले ओडेसा रुस समर्थकको कब्जाबाट मुक्त गराउन विशेष सुरक्षाबल गठनको तयारी गरेको सोमबार जनाए।

ओडेसामा हिरासतमा लिइएका ६७ जना पृथकतावादीलाई प्रहरी कार्यालय कब्जा गरी रुस समर्थकले आइतबार छुटाएर लगेपछि आक्रोशित गृहमन्त्रीले विशेष सुरक्षाबल गठनको तयारी गरेका हुन्। ओडेसामा गएको शुक्रबार भएको सेना–पृथकतावादी भिडन्तमा करिब ५० जना मारिएका थिए। उता पूर्वी सहर स्लाभिन्स्कनजिक भने सेना–रुस समर्थक पृथकतावादी भिडन्त सोमबार पनि जारी छ।

सेनाले स्लाभिन्स्क आफ्नो नियन्त्रणमा लिन रुस समर्थकविरुद्ध भिडन्त गरिरहेको छ। गोली हानाहानको आवाज सहरको मध्यतिर सुनिन थालेकाले स्लाभिन्स्कमा छिट्टै सेनाको नियन्त्रण हुने सम्भावना बढेको छ। दक्षिण पश्चिमी बन्दरगाह ओडेसा युक्रेनका लागि निकै महत्वपूर्ण छ। दुई वटा बन्दरगाह रहेको करिब १० लाख जनसंख्याको ओडेसामा रुसी, युक्रेनी, जर्जियाली र तातार जातिको बसोबास छ।

ओडेसा रुसमा विलय भए त्यसको व्यापक आर्थिक र सामरिक प्रभाव युक्रेनसहित छिमेकी देशमा पर्नेछ। जारकालीन समयमा समेत पूर्वी प्रवेशद्वार मानिने ओडेसा रुसको महत्वपूर्ण बन्दरगाह थियो। गृहमन्त्री अभाकोवले संकटका बेला देश सेवा गर्न अघि सरेका राष्ट्रवादी नागरिक समेटेरसुरक्षाबल किभ–१ गठन गरिन लागेको जानकारी दिए। रुस समर्थकले प्रहरी कार्यालयबाट पृथकतावादीलाई छुटाएपछि ओडेसाका वरिष्ठ प्रहरी अधिकारीलाई निलम्बन गरिएको छ।

उनीहरूविरुद्ध फौज्दारी अभियोगमा मुद्दा चलाइने सम्भावना छ। युक्रेनले पूर्वी भूभागका प्रहरीमाथि विश्वास गर्न नसकिने जनाएको छ। फेब्रुअरीमा युक्रेनी राष्ट्रपति भिक्टर यानुकोभिच रुस भागेपछि युक्रेनमा उत्पन्न राजनीतिक संकट गहिरिँदै गएको छ। रुस समर्थक यानुकोभिचलाई संसदले अपदस्थ गरेको थियो।

त्यसपछि पूर्वी प्रायद्विप क्रिमियामा रुस समर्थक युक्रेनीले विद्रोह गर्दै रुसमा मिसिन जनमत संग्रह गरेपछि रुसले क्रिमिया औपचारिक रुपमा नै आफूमा गाभेको थियो। क्रिमिया विलयपछि युक्रेनका अन्य भूभागमा समेत रुस समर्थक पृथकतावादीले सहर र सरकारी कार्यालय नै कब्जा गर्दै आएका छन्। यिनै घटनाका कारण करिब ४ करोड ५० लाख जनसंख्या भएको युक्रेन अहिले गृहयुद्धको संघारमा पुगेको छ।