welovenepal.com Nepali Time
Annapurna Area
नेकपा एमालेको नवौं महाधिवेशन असारमा सर्यो

काठमाडौं, वैशाख २३ ‍- नेकपा एमालेको महाधिवेशनको मिति सरेको छ। केन्द्रीय कार्यालय बल्खुमा सोमवार बसेको केन्द्रीय कमिटीको बैठकले महाधिवेशनको मिति आगामी असार १९ देखि २५ गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको हो। यसअघि महाधिवेशनको मिति आगामी जेठ २४ देखि ३० गतेसम्म गर्ने तय गरेको थियो।

पार्टी अध्यक्ष झलनाथ खनालको मङ्गलबारबाट सुरु हुने चीनको भ्रमण र संसदीय दलका नेता केपी शर्मा ओलीको स्वास्थ्य उपचार थाइल्यान्डमा भइरहेका कारण महाधिवेशनको मिति सार्ने प्रस्ताव सोमबारको बैठकमा अध्यक्ष खनालले राख्नुभएको थियो। एमालेका प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीका अनुसार अध्यक्षको चीन भ्रमण र नेता ओलीको स्वास्थ्य स्थितिलाई ध्यानमा राखी महाधिवेशनको मिति पर सरेको हो।

यस्तै, बैठकमा महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदनका विषयमा समेत मतैक्यता भएको बताइएको छ। सल्लाहकार र ज्येष्ठ कम्युनिस्ट मञ्चका सदस्यहरूलाई पनि स्वतः प्रतिनिधि बनाउने निधोसमेत बैठकले गरेको छ। विभिन्न जनवर्गीय सङ्गठनका अध्यक्ष र जिल्ला अध्यक्षहरूलाई पनि स्वतः प्रतिनिधि बनाउने प्रस्ताव केही केन्द्रीय सदस्यले बैठकमा राख्नु भए पनि सो प्रस्ताव भने पारित हुन सकेन।

बैठकमा अध्यक्ष खनालले आगामी जेठ ३० गते एकैदिन मुलुकभरि नै प्रतिनिधिको छनोट गर्ने प्रस्ताव बैठकमा राख्नुभएको थियो। अध्यक्ष खनालको सो प्रस्तावलाई बैठकले पारित गरेको नेता ज्ञवालीले जानकारी दिनुभयो। यस्तै, सदस्यता नवीकरणको म्याद भने थप गरिएको छैन। महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक दस्तावेजको मस्यौदालाई अन्तिम रूप दिनका लागि आगामी जेठ ११ देखि १३ गतेसम्म केन्द्रीय कमिटीको बैठक बस्ने निर्णयसमेत बैठकले गरेको छ।

यसैविच नेकपा एमालेले नेपाल पत्रकार महासंघका नवनिर्वाचित अध्यक्ष डा.महेन्द्र विष्टसहितको टिमलाई आज सम्मान गरेको छ। पार्टी मूख्यालय बल्खुमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष झलनाथ खनाल, महासचिव ईश्वर पोखरेल, पार्टी प्रचार विभाग प्रमुख प्रदीप ज्ञवाली लगायतका एमाले नेताहरुले महासंघको नयाँ नेतृत्वलाई सम्मान गरेका हुन्।

सम्मानपछि कार्यक्रममा एमाले अध्यक्ष झलनाथ खनालले संविधानसभाबाट स्वतन्त्र प्रेसको मुद्दालाई संस्थागत गर्ने प्रेसमैत्री संविधान जारी गर्ने बताए। उनले समयमै संविधान जारी गर्न महासंघले दवाबमूलक रचनात्मक कार्यक्रम गर्नुपर्नेमा जोड दिए। त्यसैगरी एमाले महासचिव ईश्वर पोखरेलले पेशागत हकहित र व्यवसायिक पत्रकारिताका लागि काम गर्न महासंघ नेतृत्वसँग आग्रह गरे।

एमाले प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले श्रमजीवीहरुको पेशागत सुरक्षाका लागि महासंघ नेतृत्व लाग्नुपर्नेमा जोड दिएका थिए भने महासंघका नवनिर्वाचित अध्यक्ष डा.विष्टले श्रमजीवी पत्रकार ऐन कार्यान्वयन र पत्रकारको पेशागत सुरक्षा नै महासंघ नेतृत्वको प्राथमिकता भएको बताए। नेपाल पत्रकार महासंघको २४औं महाधिवेशनबाट डा.विष्टको नेतृत्वमा ४३ सदस्यीय नयाँ कार्य समिति चयन भएको छ। महासंघको नेतृत्व पहिलो पटक समावेशी बनेको छ।