welovenepal.com Nepali Time
Annapurna Area
इलामको एक दर्जनभन्दा बढी प्राकृतिक पोखरी सुक्दै

इलाम, वैशाख २३ – इलाममा रहेका दर्जनभन्दा बढी प्राकृतिक पोखरी र जलाशयमा पानी सुकेपछि यहाँको पोखरीहरूको अस्तित्व सङ्कटमा पर्न लागेको छ। संरक्षण अभाव र जलवायु परिवर्तनका कारण पोखरीहरू दिनप्रतिदिन सुक्दै गएपछि पानीको स्रोतसमेत गुम्ने अवस्थामा पुगेको छ। पोखरी संरक्षण गर्न वातावरणीय प्रभाव न्यूनीकरणका लागि स्थानीय सरोकारवालाले चासो व्यक्त गर्न थालेका छन्।

इलाम सदरमुकामबाट पश्चिममा रहेको जितपुर–२ र ४ को बीचमा पर्ने झ्याऊ पोखरीको पानी सुकेपछि खेल मैदानमा परिणत भएको छ। धार्मिक र पर्यटकीय महत्व बोकेको झ्याऊ पोखरी विगत तीन वर्षयता पूरै सुकेपछि त्यहाँ खेलकुद प्रतियोगिता सञ्चालन भइरहेका छन्। वरिपरि रहेको सडकबाट भल बगेर बालुवाले पुरेपछि पोखरी सुकेको स्थानीयवासीको भनाइ छ।

करिब ३१ रोपनी क्षेत्रफलमा फैलिएको उक्त पोखरी क्षेत्र धार्मिक दृष्टिकोणले देवता नागको बासस्थान भएकाले त्यहाँ मानव बस्तीको कारण फोहोरमैला भएको र मानिस मरेको कारण उक्त पोखरी खोलेपछि पानीको सतह घट्यो र मध्यरातमा बाजा बजाएर जितपुरे सर्दै माईपोखरीमा त्यहाँका देवता सरेको हो भन्ने स्थानीय बुढापाकाको किंवदन्ती छ।

यसरी देवता बसाइँ हिँड्दा बाटोमा जङ्गली जनावरहरूको पञ्जाछाप भएको समेत भनाइ छ। रामसार सन्धिमा सूचीकृत माईपोखरी पनि दिनप्रतिनि सुक्दै गएको छ। विगत तीन वर्षयता पोखरी निरन्तर सुक्दै गएको छ। पानी सुक्न नदिन र भरिभराउ राख्नका लागि जिल्ला विकास समितिले बाहिरी मुहानबाट पानी हाल्ने तयारीसमेत गरेको छ।

इलामको प्रसिद्ध माईपोखरी, इभाङको डोल पोखरीसमेत सुक्ने क्रममा छन्। शान्तिडाँडाको गुफाथुम्की पोखरी, माईमझुवाको आहालपोखरी, जमुनाको सिद्धपोखरी र माङमालुङ पोखरीजस्ता महत्वपूर्ण पोखरीमा पानीको जलाशय सुकेको छ। प्राकृतिक पोखरीहरूको जलाशय यथास्थितिमा राख्न पानीको मुहान थप गर्न र उक्त क्षेत्रको संरक्षण आवश्यक भएको जितपुरका गाविस सचिव युवराज घोर्साईं बताउनुहुन्छ।

जितपुरको झ्याऊ पोखरी संरक्षणका लागि पानीको स्रोत सङ्कलन गर्न र पोखरीलाई यथास्थितिमा पु¥याउन सिम नेपाल भन्ने परियोजनाले दुई लाख तत्काल उपलब्ध गराउने सचिव घोर्साईंले जानकारी दिनुभयो। इलाममा ४८ वटा प्राकृतिक पोखरी रहेकामा सबै पोखरीको अस्तित्व सङ्कटमा परेको बताइएको छ।