welovenepal.com Nepali Time
Annapurna Area
पर्यटकले भरिनुपर्ने होटल आरोहीका सामानले भरिए

सोलुखुम्बु, वैशाख २३ – पर्यटक र तिनका पथप्रदर्शक तथा सहयोगीले खचाखच भरिनुपर्ने सगरमाथा आधार शिविर नजिकका होटल तथा लजहरु अहिले आरोहीका बन्दोबस्तीका सामानहरुले भरिएका छन्। सगरमाथा आरोहणका लागि गएका दलले आरोहण रद्द गरी अर्को पटकका लागि थन्काउदा आधार शिविर नजिकको गोरप्सेप तथा लबुचेका होटलहरु सामानले भरिएका हुन्।

महिना दिनसम्म आधार शिविरमा आवश्यकपर्ने खाद्यान्न र आरोहणका लागि आवश्यकीय उपकरण बोकेर फिर्ता ल्याउँदा झनै खर्चिलो हुने भए पछि सम्बन्धित आरोहण दलले आधार शिविर नजिकै थन्काएका हुन्। ३१ आरोहण दलका सामान थन्काउने प्रशस्त ठाउँ नहुँदा व्यवस्थापन गर्नसमेत गाह्रो भएको आरोहण दलका पथप्रदर्शकहरु बताउँछन्।

आरोहणको प्रारम्भिक चरणमै घटना घटेपछि सामानसमेत खपत हुन नसकेको र उक्त सामान थन्काउन पनि ठूलो कोठाको आवश्यक भएको आरोहीहरु बताउँछन्। सामान थन्काउने प्रशस्त ठाउँको अभावमा एकअर्कामा साटिने, हराउने र टुटफुट हुने सम्भावनासमेत बढेको उनीहरु बताउँछन्।

कतिपय खाद्य पदार्थको उपभोग्य मिति सकिने हुनाले त्यसको व्यवस्थापन कसरी गर्ने भन्नेमा धेरै समस्या भएको पथप्रदर्शक साजन कुलुङले बताउनुभयो। आरोहणका लागि आवश्यकीय उपकरण तथा बस्दोबस्तीका सामान अर्को मौसमका लागि काम लाग्ने भए पनि खाद्यान्न तथा उपभोग्य सामानको उपभोग्य म्याद गुज्रिने हुँदा यसले समस्या निम्त्याउने आरोहीको भनाइ छ।

आरोहीले लगेको ती खाद्य सामग्री आधा मूल्यमा बिक्री गर्न चाहँदासमेत स्थानीय होटलहरुले किन्न नमानेको उनीहरु बताउँछन्। यस मौसममा सकिएपछि अब आफूहरुको व्यापार पनि अर्को मौसममा मात्र हुने भएकाले त्यो सामान किन्न नसक्ने व्यवसायीहरुले बताएका छन्।