welovenepal.com Nepali Time
Annapurna Area
हार्वड यूनिवर्सिटीमा मधेश सम्बन्धी सेमिनार समापन

बोस्टन, मंसिर ३ – यही कार्तिक २९ गते हार्वड यूनिवर्सिटी साउथ एशिया इनिशिएटिवद्वारा आयोजित मधेश सम्बन्धी सेमिनारमा गैर-आवासीय मधेशी  संघका अध्यक्ष डा. सी. के. राउतले ‘Brooms Against Bullets: A Saga of the Madheshi Movement in Nepal’ शिर्षकमा आफ्नो एक घंटा लामो व्याख्यान दिएका थिए ।

त्यस पछि आयोजक र सहभागीहरु सँग करीब एक घंटा लामो छलफल भएको थियो । सेमिनारको अध्यक्षता हार्वड विश्वविद्यालयका प्रोफेसर माइकल विजेलले गरेका थिए ।

मधेशको पौराणिककाल देखिको ऐतिहासिक वृतान्त देखि शुरु गर्दै मधेश कसरी राजा-महाराजा, मुस्लिम-शासक र व्रिटिशहरुको हात हुँदै गोरखालीहरुको हातमा आए भन्ने कुरामा डा. राउतले प्रकाश पारेका थिए । गोरखालीहरुको हातमा आए देखि मधेशीहरुमाथि भएको शोषण र अन्यायहरुलाई उल्लेख गर्दै यसमा महिलाहरु कसरी बढीमा पिडित हुन पुगे भन्ने कुराको व्याख्या गरेका थिए । २००७ र २०४७ सालको प्रजातन्त्र पछि पनि अधिकार नपाएका मधेशीहरु, २०६३ सालको जनआन्दोलनबाट समेत पनि आफ्नो अधिकार नपाउने देखे पछि कसरी उनीहरु आन्दोलनमा उत्रे, र त्यसमा पनि सधैं जसो घर भित्रै बस्ने मधेशी महिलाहरु किन र कसरी आक्रोशित भएर सडकमा ओर्लिए, भन्ने कुरा डा. राउतले व्याख्या गरेका थिए ।

डा. राउतले नेपालमा मधेशी, र खासमा मधेशी महिलाहरुको हालत अत्यन्त दयनीय रहेको कुरामा प्रकाश पारेका थिए । पहाडी महिलाहरुको ६३.४% साक्षरता दरा (adult literacy rate) को तुलनामा मधेशी महिलाहरुको साक्षरता दर ३५.९% मात्र रहेको, र त्यसमा पनि मूस्लिम र दलितहरुको स्थिति अझ खराब रहेको कुरा बताएका थिए । दलितहरु मध्ये पनि १५% पहाडी दलितहरु मात्र जग्गा-विहिन अवस्थामा रहेको तर ४४% मधेशी दलितहरु जग्गा-विहिन रहेको कुरा पनि देखाएका थिए । त्यसै गरि, मधेशी दलितहरुमा इन्क्लूजन इनडेक्स १९% मात्र रहेको, जबकि पहाडी नेवारहरुमा ९४% रहेको कुरा औल्याएका थिए । सरकारले मुक्त घोषणा गरे पनि कमैया-थारुहरु अझै पनि भूमिहीन अवस्थामा रहेको र अझै पनि पूर्ववत्त जीवन बिताउन बाध्य भएको कुरा पनि उहाँले बताउनु भएको थियो।

मधेशमा रहेका कमैया, कम्लरी, दाइजो, बोक्सी, बिधवा, बाल-विवाह, पर्दा, जातिवाद, र अछुत जस्ता कैयन प्रथाबाट मधेशी महिलाहरु उत्पिडित रहेको कुरा बताएका थिए। मधेशीहरुमा शिशु मृत्युदर पहाडीहरुको तुलनामा निकै नै उच्च रहेको कुरा डाटा मार्फत देखाउँदै, अर्लि-नियोनेटल डेथ पहाडको ३५ प्रति १००० को तुलनामा मधेशमा ७७ प्रति १०००, अर्थात दोब्बर भन्दा बढी रहेको कुरा बताएका थिए ।

यसरी चाहे प्रति-व्यक्ति आय-दर हुन्, वा साक्षरता दर, वा शिशु-मृत्युदर, वा बेरोजगारी दर, वा हुमन डेवेलपमेन्ट इनडेक्स, मधेशीहरु पहाडीहरु भन्दा निकै नै पछाडी रहेको कुरा डा. राउतले देखाएका थिए । त्यस्तै, मेडिया, NGO र अन्तर्राष्ट्रिय जगतको मधेशमा पहुँच एकदम न्यून रहेको कुरा डाटा मार्फत डा. राउतले दर्शाएका थिए ।

व्याख्यान पछि सेमिनारका सहभागीहरुले निकै नै रोचक र गम्भीर प्रश्नहरू गरेका थिए । ‘पहाडमा आवत-जावत गर्न कठिनाई हुन्छ, पहाड विकासबाट वढी वंचित रहेको हुनुपर्ने होइन र?’ भन्ने एक सहभागीको जवाफमा डा. राउतले ‘पहाड भन्ने वित्तिकै अविकसित हुने भए स्विट्जरल्यान्ड किन यति विकसित हुन्थ्यो, र समतल हुने वित्तिकै विकसित हुने भए अफ्रिकाको हालत किन यस्तो हुन्थ्यो? भौगोलिक बनोटले मात्र त्यहाँको जनताको स्थितिलाई निर्धारण गर्दैन, त्यहाँको जनताको आर्थिक स्थिति, राजनैतिक अधिकार र शैक्षिक-चेतना स्तर आदि जस्ता कैयन कुराहरुले मुख्य भूमिका निर्वाह गरेको हुन्छ’ भनेर जवाफ दिएका थिए । त्यस्तै अर्का एक सहाभागीले ‘ठिक छ, मधेशलाई नेपाल सरकारले ध्यान दिएन, तर मधेशमा रहेका विभिन्न विसंगतिहरुका लागि मधेशी जनताहरु आफैं पनि दोषी छैनन्?’ भनेर सोध्दा डा. राउतले, “मैले पहाडी सरकार र सत्तालाई मात्र दोष दिएको छैन, वोक्सीको आरोपमा विभिन्न अत्याचार गर्नु जस्ता विसंगतिहरुका लागि मधेशी जनताहरू आफैं नै दोषी छन् । तर मान्नुस्, त्यही अपराध गर्ने व्यक्तिहरुलाई तपाईंले अमेरिका ल्याउनु भयो भने, उनीहरुले यहाँ त्यही अपराध गर्दछन् त? गर्दैनन्, किनकि उनीहरुलाई थाहा छ यहाँ गर्यो भने कानुनबाट उम्किन पाउन सक्ने छैनन् । त्यसैले, त्यस किसिमका अपराधहरू गर्नुमा मधेशीहरु जिम्मेबार छन् भने, अपराध हुनबाट नरोक्नुमा सरकार दोषी छन्।” भनेर जवाफ दिएका थिए। त्यस्तै अर्का एक सहभागीले, ‘हिमाल भेगको शिशु-मृत्युदर डाटा सँग तराईको डाटालाई कसरी तुलना गर्नु हुन्छ?’ भनेर सोधेका थिए । जवाफमा, डा. राउतले डाटालाई त्यसरी पार्टिशन गर्न उचित नभएको बताएका थिए । “हिमाली भेगको जनसंख्या एकदम कम भएको, र त्यसमा निकालिएको प्रतिशतलाई तराई भेगको प्रतिशतसँग दाँज्न नमिल्ने बताएका थिए । मान्नुस्, एउटा सेटमा २ जना छन् र अर्को सेटमा १०००, अब पहिलो सेटमा ५०% ले दु:ख पाएको भने तापनि त्यहाँ एक जनाले मात्र दु:ख पाएको हुन्छ, तर पछिल्लो ठुलो सेटमा १०% ले मात्र दु:ख पाएको भने तापनि, त्यहाँ दु:ख पाउने मान्छेहरुको संख्या १०० हुन्छ, भन्ने ठुलो राहत कता तिर दिनु पर्ने हो?” भनेर उहाँले जवाफ दिनु भएको थियो । त्यसै गरी भारतसँग मधेशीहरुको सांस्कृतिक निकटता र भारतको मधेश प्रतिको भूमिकाका बारेमा पनि प्रश्न एक सहभागीले गरेका थिए । माओवादीहरुले मधेशी समाजमा पारेका प्रभावहरुका बारेमा पनि प्रश्नहरु उठाइएका थिए । अन्य धेरै ने प्रश्नहरुको जवाफ दिदैं चलेको बहस करीब एक घंटा लामो समय सम्म चलेको थियो ।

बहसका क्रममा केही सहभागीहरुले नेपालमा आफूले भ्रमण गर्दा ताकाका अनुभवहरु पनि सुनाएका थिए । त्यस मध्ये पिस-कोर्‌प्स्‌का स्वयंसेवक भई ६०को दशकमा बारामा काम गरेका एक सहभागीले त्यति बेला मधेशीहरु माथि भएको नराम्रो भेदभावलाई आफैंले देखेको कुराको अनुभव साटेका थिए । उसले, मधेशी किसानले कृषि बैंकबाट ऋण माँग्न जाँदा उसलाई बैंकमा छिर्न समेत नदिएको, र पछि आफू सँगै गए पछि मात्र छिर्न दिएको, कुरा बताएका थिए । उसले त्यहाँको म्यानेजरलाई मैले अमेरिकाबाट एउटा काम गराई दिए पछि मात्र किसानलाई ऋण दिलाउन सकेको कुरा उल्लेख गरेका थिए ।